जेठ २,काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि सुनुवाइ गर्दैछ। बिहीबार न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ तोकिएको छ। मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले हिरासतमा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले रिट दिएकी थिइन्।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नुको कारण देखाउन र उनलाई अदालतमै हाजीर गराउन आदेश जारी गरेको थियो। सो अनुसार उनलाई अदालत उपस्थित गराइसकिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र ४७ दिनदेखि प्रहरी हिरासतमा छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
उनीमाथि अनुसन्धान र बयान लिने काम सकिसकेको भएपनि हाजिर जमानीमा नछाडिएको उनकी श्रीमती कार्कीको जिकिर छ।
मिश्रलाई रिहाइ गर्न माग गर्दै राप्रपाले पनि विभिन्न कार्यक्रम गर्दै आएको छ।