मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ ५, सोमबार (४ घण्टा अघि)
  • ४५ पटक पढिएको
मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

जेठ ५, काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबार साँझ बस्दैछ । साँझ पाँच बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको हो । तर स्थान भने तय भैसकेको छैन ।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ । सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ ।

सरकारले गत बुधबार गभर्नर सिफारिस समितिको सदस्यमा डा. पोषराज पाण्डेलाई नियुक्त गरेको छ । अर्थमन्त्री विष्णु पौडेल र पूर्व गभर्नर महाप्रसाद अधिकारीसहितको समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ ।

यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गते सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

सरकारले गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गर्न लागेको भन्दै नेपाल राष्ट्र बैंक ऐन विपरित हुने दावीसहित डा. पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले दिएको रिट निवेदन सर्वोच्च अदालतले आइतबार दर्ता गरेको छ । गत शुक्रबार अदालतले सो मुद्दालाई दरपीठ गरेको थियो ।

अदालतले भोलि पेशीमा राखेको छ । तर, त्यसअघि बिहान कार्यालय खुल्ने बित्तिक्कै नयाँ गभर्नरको शपथ प्रधानन्यायाधीशबाट गराएर पदबहालीसम्मको योजना रहेको बताइन्छ ।

पौडेल गत आम निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार हुन् । उनी कांग्रेसको क्रियाशील सदस्य रहेको जनाइए पनि उनले आफूले सदस्यता नवीकरण नगरेको दाबी गर्दै आएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीको गत चैत २४ गते कार्यकाल सकिएर अवकास लिएपछि राष्ट्र बैंकको नेतृत्व कामु गभर्नर डा निलम ढुंगानाले सम्हालेकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस