असोज ६, काठमाडौं । विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिका सूचक तथा प्रभावहरु देखिने क्रम थप तीव्र बन्दै गएको जलवायु परिवर्तनका सम्बन्धमा अध्ययन गरिरहेका वैज्ञानिकले बताएका छन् ।
अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जलवायु परिवर्तन सम्बन्धी मुद्दामा विश्वका नेताहरुले छलफल गर्नु पूर्व सार्वजनिक भएको वैज्ञानिकहरुको अध्ययन प्रतिवेदनमा विगतको तुलनामा तापमान वृद्धिका सूचकहरु देखिने र त्यसको प्रभाव तीव्र भएको उल्लेख छ ।
विश्व मौसमविज्ञान संघ (डब्लुएमओ) सँगको सहकार्यमा तयार पारिएको तथ्यांकमा सन् २०१४ देखि २०१९ सम्मको पाँच वर्षको अवधि इतिहासमा सबैभन्दा गर्मी वा तातो वर्षका रुपमा रहेको देखिएको छ ।
यो अवधिमा समुद्र सहत स्पष्ट रुपमा महसुस हुने गरी बढेको तथा कार्बनडाइअक्साइडको उत्सर्जनको मात्रा नयाँ कीर्तिमानको स्तरमा पुगेको छ ।
कार्बन उत्सर्जन कम गर्नका लागि गरिने प्रयास तत्काल सघन बनाउने पर्ने डब्लुएमओले उल्लेख गरेको छ । पछिल्ला वर्षका तथ्यांकहरुको विश्लेषण गरी तापमान वृद्धिका कारण तथा त्यसका प्रभावहरुको वैज्ञानिक अनुसन्धानलाई समावेश गरेर जलवायु परिवर्तन सम्बन्धी वक्तव्य जारी भएको हो ।
सन् १८५० यता विश्वको तापक्रम १.१ डिग्री सेन्टिग्रेडले बढेको छ । सन् २०११ देखि २०१५ को बिचमा विश्वव्यापी तापमान ०.२ डिसीले बढेको छ ।
कार्बन उत्सर्जनको मात्रा बढेकाले विश्वव्यापी रुपमा तापमान वृद्धि तीव्र भएको बताइएको छ । सन् २०१५ देखि २०१९ को अवधिमा कार्बनडाइअक्साइडसहितका ग्यासको उत्सर्जन अघिल्लो पाँच वर्षको तुलनामा २० प्रतिशतले बढेको जनाइएको छ ।
सबैभन्दा चिन्ताको विषय तीव्र रुपमा बढी रहेको समुद्री सहतहर रहेको जनाइएको छ । सन् १९९३ देखि हालसम्म समुद्र सतह औषत रुपमा ३.२ एमएमप्रति वर्षका दरमा बढेको छ । तर सन् २०१४ को मे देखि २०१९ मा प्रति वर्ष समुद्र सतहको वृद्धि दर ५ एमएम रहेको वैज्ञानिकले बताएका छन् । सन् २००७ देखि २०१६ अर्थात १० वर्षको अवधिमा यो दर प्रतिवर्ष ४ एमएम देखिएको थियो ।
समुद्र सतह बढ्ने क्रम तीव्र बन्दै गएको र अन्टार्कटिका तथा ग्रिनल्याण्डमा हिउँ पग्लिने क्रम तीव्र हुनु गम्भीर चिन्ताको कारण रहेको डब्लुएमओका महासचिव पेत्तेरी तालासले बताएका छन् ।
तापमान वृद्धिका कारण सबैभन्दा बढी प्रभाव समुद्रमा पर्ने भन्दै प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ । जलवायु परिवर्तनका कारण बढ्ने तापमानको ९० प्रतिशत प्रभाव पानीमै पर्ने उल्लेख छ ।