नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य, सागर पुनको उत्कृष्ट प्रदर्शन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र १३, बुधबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं । एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तर्गत नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ९ विकेटको क्षतिमा २२१ रन बनाएको छ ।

नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । उनले बलमा ८४ बलमा ८३ रन बनाएका हुन् ।

यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौका र एक छक्काको सहयोगमा ४५ रनको योगदान दिए । करण केसीले १० बलमा नटआउट २६, आरिफ शेखले ७४ बलमा ३६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ९, कप्तान पारस खड्काले ८, सोमपाल कामीले पाँच र सुवास खकुरेलले चार रन बनाए ।

शतक नजिक सागर
नेपालका लागि सागर पुनले उत्कृष्ट प्रदर्शन गरे । २३ औँ ओभरमा चार विकेट गुमेको अवस्थाबाट सागरले टिमको पारी धानेका हुन् । ६५ औँ बलमा वा ४२ औँ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए । त्यसपछि पनि क्रिजमा टिकेका सागरले ८४ बलमा ८३ रन बनाए । उनी ५० औँ ओभरको चौथो बलमा रन आउट भए । सागरले ६ चौका र दुई छक्का प्रहार गरे ।

बुधबारको पहिलो छनौट खेलमा नेपाल र ओमान दुवै देश जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । ओमानसँग नेपालको पहिलो भेट सन् २००२ जुलाई १२ मा एसीसी ट्रफीमा भएको थियो । जसमा नेपाल १०५ रनले विजयी भएको थियो ।

नेपाल र ओमानको भेट अन्तिम पटक सन् २०१८ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा भएको थियो । उक्त खेलमा ओमान ६ विकेटले विजयी भएको थियो । सुरुका तीन खेल लगातार जितेको नेपाल पछिल्ला वर्षमा ओमान भन्दा कमजोर देखिएको छ ।

छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस