साउन ४, काठमाडौ । विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६८४ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ हजार ३६१ पुगेको छ । खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।
बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि एक समय विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा अहिले संक्रमण लगभग नियन्त्रणमा छ । त्यहाँ अहिले दैनिक औषत १० हजार हाराहारी संक्रमित हुने गरेका छन् भने ३०र३५ जनासम्मको मृत्यु हुने गरेको छ । हालसम्म अमेरिकामा ६ लाख २४ हजार ७४६ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी ब्राजिलमा ५ लाख ४२ हजार २६२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा पनि संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा सोमबार बिहानसम्म ४ लाख १४ हजार १४१ संक्रमितको मृत्यु भएको छ ।