हमास-इजरायल युद्ध

हमासको प्रतिनिधिमण्डल कायरो पुग्यो, युद्धविरामको सम्झौता होला ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २२, शनिबार (१ हप्ता अघि)
  • ६४ पटक पढिएको
हमासको प्रतिनिधिमण्डल कायरो पुग्यो, युद्धविरामको सम्झौता होला ?

बैशाख २२,काठमाडौँ । इजरायलसँग युद्धविरामका लागि छलफल गर्न हमासको प्रतिनिधिमण्डल इजिप्टको कायरो पुगेको छ । तीन चरणमा युद्धविराम गर्ने प्रस्तावसहित इजिप्टले हमास र इजरायल दुवैलाई वार्ताको लागि सहमत गराएको हो । गाजामा युद्ध रोक्न सक्ने इजिप्टको ग्यारेन्टी पाएपछि हमासले वार्ता टोली पठाएको खबरमा उल्लेख छ ।

इजरायल र इजिप्टले अब पनि हमासले युद्धविरामको सम्झौता नगरेमा गाजाको अवस्था झनै भयावह हुने चेतावनी दिएका छन् । अमेरिकाको संघीय अनुसन्धान ब्युरो सीआईएका निर्देशक विलियम बन्र्सले युद्धविराम सम्झौतामा इजिप्ट, अमेरिका र कतारले ग्यारेन्टरको भूमिका खेल्ने बताउनुभएको छ । गएको सोमबार पनि हमाससँग वार्ता भएकोमा युद्धविरामको सम्झौता हुन सकेको थिएन ।

अहिले इजिप्टले तयार पारेको युद्धविराम पहलमा तीन वटा चरण रहेका छन् । जसमा इजरायली बन्धक र प्यालेस्टाइनका कैदीको आदानप्रदान गर्नु, युद्धविराममा पुग्न आवश्यक उपायहरू लिनु र दिगो शान्ती पुनर्स्थापना गर्नु रहेका छन् । पहिलो चरण ४० दिनको हुने छ । जसमा दुवै पक्षले आक्रमण रोक्ने, बन्दी र कैदीको आदानप्रदान गर्ने र गाजाबाट विस्थापित नागरिकलाई आफ्नो निवास क्षेत्रमा फर्काउने व्यवस्था रहेका छन् ।

यस्तै गाजामा पर्याप्त मात्रामा मानवीय सहायता, राहत सामग्री र ईन्धनको ढुवानी सहज बनाउने, भग्नावशेष हटाउन तथा अस्पताल, स्वास्थ्य केन्द्र र बेकरीको पुनर्निर्माणको लागि उपकरणको ढुवानीमा सहजता प्रदान गर्ने पनि प्रस्तावमा उल्लेख छ । गएको अक्टोबर ७ तारिखमा १२ सय जनाको ज्यान जानेगरी हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि गाजा ध्वस्त हुनेगरी आक्रमण गरिरहेको छ । जहाँ झण्डै ३५ हजार जनाको ज्यान गइसकेको छ ।

यसअघि गएको नोभेम्बरमा इजरायल र हमासबीच एक हप्ता लामो युद्धविराम हुँदा दुवै पक्षले केही कैदी साटासाट गरेका थिए । हमाससँग अझै एक सय ३४ जना बन्धक रहेको अनुमान छ । यी मध्ये ७० जनाको इजरायली आक्रमणमा ज्यान गएको हमासले जनाएको छ । इजरायलले आफ्नो जेलमा नौ हजारभन्दा बढी प्यालेस्टाइनीलाई कैदी बनाएको छ । धेरैको अवस्था खराब रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस