प्रहरी महानिरीक्षक –आइजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरीका उच्च पदस्थहरुको बैंक खाता चेक गरिने बताएका छन् । आज (बुधबार) जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नव निर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरी कर्मचारी, परिवार र साथीहरू समेतको बैंक खाता जाँच गरिने बताएका हुन् ।
‘हामीले डीआइजी साबसम्म पनि करप्सनमा कारबाही गर्दछौं, तपाईं सबैले बुझ्नु पर्छ । म–म नभन्नुस्,’ उनले भने, ‘तपाईंहरूको खाता चेक गर्दैछौं हामी । तपाईंहरूको साथी संगतीको खाता चेक गर्दैछौं ।’ उनले एक प्रहरी नायब महानिरीक्षक (डीआइजी) फस्न लागेको पनि खुलासा गरे । तर उनले ती डिआइजीको नाम भने खुलाएनन् । ‘अहिले एक जना डीआइजी साब फस्दै हुनुहुन्छ । त्यसैले यी कुराहरू बुझ्नुस् । निर्मम हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘धेरै ठाउँमा हामीले एसपी तानेका छौं, कारण करप्सनको कारण ।’
नेपाल प्रहरीमा रहेका धेरैजसो प्रहरी निरीक्षकहरू ट्राफिक बन्न चाहेको र अधिकांश मधेशमा जान रूचाउने पनि उनले बताएका छन् । ‘अहिले मसँग ११ सय इन्सपेक्टरहरू छन् । त्यसमध्ये सबै इन्स्पेक्टरहरू तराईको इन्स्पेक्टर जान खोज्छन् । किन ? प्रत्येक जवान तराईको अझ लुम्बिनी र मधेसको सीमा चौकी जान खोज्छ किन ? काम एउटै होइन ? त्यसकारण यी कुरा बुझ्नुस् । यो कुरामा म फेरि पनि सचेत गराउन चाहन्छु,’ उनले भने । उनले नेपाल प्रहरीका कर्मचारीहरूलाई व्यावसायिक, इमान्दार हुन पनि निर्देशन दिएका छन् ।