जेठ ११, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले जनताविरुद्ध हुने कुनै पनि गतिविधि सहृय नहुने बताएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले यस्तो बताउँदै आगामी जेठ १५ मा गणतन्त्र दिवस भव्य रुपमा मनाउने निर्णय गरेको हो ।।
राजावादी समुहहरुले जेठ १५ मा प्रदर्शन गर्न लागेको सन्दर्भमा एमालेले जनताको विरुद्धमा गणतन्त्रमाथि हुने कुनै पनि अवाञ्छित गतिविधि सहृय नहुने र त्यसको प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
‘जनताको विरुद्धमा हुने कुनै पनि गतिविधि नेकपा एमालेका लागि स्वीकार्य हुँदैन । गणतन्त्र जनताको अधिकारको रुपमा स्थापित गर्ने काम भएको छ । त्यसलाई अझै सबल र सुदृढ बनाउनुपर्छ भन्ने कुरा भएको छ,’ महासचिव पोखरेलले भने, ‘जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रुपमा देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ ।’
पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउन पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेले गरेको छ । काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झांकिसहित गणतन्त्र दिवस उत्सवको रुपमा आयोजना हुने उनले बताए ।