जेठ ११, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बालकोटस्थित डेरामा रोशनी शाही मृत फेला परेकी छिन् । जाजरकोट स्थायी घर भई बालकोटस्थित लक्ष्मीश्वर महतोको घरमा डेरा गरेर बस्ने ५० वर्षीय शाही मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार आइतबार दिउसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइमा उनको शव फेला परेको थियो ।
प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा उनी कोठाभित्रै मृत भेटिएकी हुन् । उनको शरीरमा कुनै चोटपटक नलागेको र घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । के कति कारणले मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
स्वास्थ्य सेवाकी कर्मचारी शाहीले पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी प्रयासको जाहेरी दिएकी थिइन् । सोही आधारमा महरा पक्राउ समेत परी मुद्दा चलेकोमा पछि सफाइ पाएका थिए ।