जेठ ११, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समुहहरुको प्रदर्शनका क्रममा भएको हिसांत्मक घटनामा संलग्न ६१ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा पोखरेलका अनुसार घटनामा संलग्न रहेका ३० जनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ भने बाँकी ३१ जनालाई राज्यविरुद्धको अपराध, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएको छ ।
घटनामा संलग्न रहेका बाँकी चारजनाको भने सोमबार मुद्दा दर्ता हुनेछ । उनीहरूविरुद्ध भक्तपुर बाल अदालतमा मुद्दा दायरका लागि पठाइएको कार्यालयका प्रमुख शर्माले बताए ।
शर्माले भने, ‘तीनकुने घटनासँग सम्बन्धित मुद्दा अदालतमा दर्ता भएको छ । मुद्दामा ६१ जनालाई प्रतिवादी बनाइएको छ। अन्य चारजना बालक पनि छन् । उनीहरु विरुद्धको मुद्दा भने भोलि दर्ता हुनेछ ।’
प्रहरीले बिहीबार १०८ जनालाई मुद्दा चलाउन रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिल कार्यालयले ती मध्ये बालकसहित ६५ जनालाई मात्रै मुद्दा चलाएको हो ।
यो प्रकरणमा राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री शमशेर राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रतिवादी र दुर्गा प्रसाईंसहित ८ जनालाई भने राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा प्रतिवादी बनाइएको छ ।
गत चैत १५ गते राजसंस्था पक्षधरहरूको प्रदर्शनले हिंसात्मक रुप लिदाँ दुई जनाको ज्यान गएको थियो भने प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगलागीसँगै लुटपाट समेत भएको थियो ।