जेठ १२, पाल्पा । तानसेन नगरपालिका–६ पदमेटारीका तीन दाजुभाइ विगत पाँच वर्षदेखि फोहोरमा मोहर खोजिरहेका छन् । यहाँका सुशील, उमेश र टार्जन भण्डारीले तानसेन-७ लामिडाँडामा नेप्लिज वेस्ट बैंक नै सञ्चालन गरी फोहोर व्यवस्थापन गर्दै आएका छन् ।
तानसेन बजारबाट दैनिक निस्कने फोहोरले बजार प्रदूषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले तीन दाजुभाइ मिलेर कवाडी संकलन र प्रशोधिन गरिरहेका छन् । उनीहरूले उद्योग दर्ता गरी केही युवालाई रोजगारीसमेत प्रदान गरेका छन् ।
तीनै दाजुभाइले स्नातक सम्मको अध्ययन गरेका छन् । सुशीलले मेकानिक्स डिप्लोमा सकेर हाल स्नातक गर्दै छन् । उमेश बीएस्सी सकेर हाल एमए इकोनमिक्समा अध्ययनरत छन् । टार्जनले बीबीए पूरा गरेका छन् । उनीहरू तीन दाजुभाइको एउटै सोच छ , तानसेनलाई फोहोरमुक्त शहर बनाउने ।
सङ्कलित कवाडी वस्तुहरुको वर्गीकरण गरी उनीहरुले भैरहवा, काठमाडौँ, वीरगञ्जलगायत ठूला शहरका रिसाइकल कम्पनीमा पठाउने गरेको सञ्चालक उमेश भण्डारीले बताए । केही वस्तुहरु भने आफैँ रिसाइकल गर्ने गरेको उनको भनाइ छ । उनीहरुले कवाडी संकलनबाटै वार्षिक ३० देखि ५० लाखसम्म कमाइ गर्दै आएका छन् । कवाडी संकलनका लागि उनीहरूले ६ जनालाई रोजगारी दिएका छन् । यहाँ तीन जना नेपाली र तीन जना भारतीय नागरिकले रोजगार पाएका छन् ।
पढेका युवाले फोहोर सङ्कलन गर्ने काम गर्छन् भन्दा शुरुमा धेरैले गिज्याएका थिए, तर अहिले उनीहरुको काम देखेपछि धेरैले प्रशंसा गर्न थालेका छन् । उमेश सुरुका दिन सम्झदै भन्छन्, “सुरुवातमा हामीलाई यो काम गर्न त्यति सहज थिएन, कसैले सोचेका थिएनन्, पढेका युवाले कवाडी सङ्कलन गरेर खालान भनेर, त्यति बेला नत स्थानीय सरकारले सहयोग गर् यो न त समाजमा कसैले साथ दिए । परिवारलाई बुझाउन धेरै गाह्रो भयो। समाजका केही व्यक्तिहरूले त फलाम, प्लास्टिक, बोतल टिप्ने कवाडी भनेर गिज्याए ।”
पहिले फोहोर सङ्कलनका लागि उनीहरू ग्राहक खोज्दै हिँड्थे । तर, अहिले ग्राहक ‘रिसाइकलर्स’ खोज्दै उनीहरूसम्म आइपुग्छन्। प्रत्येक दिन दुई टनभन्दा बढी कवाडी सङ्कलन हुन्छ । सङ्कलन भएका फोहोरलाई त्यसको प्रकारका आधारमा छुट्टयाएर पुनः प्रशोधनका लागि सम्बन्धित कम्पनीसँग समन्वय गर्छन् । कवडीबाट प्राप्त आम्दानीबाट उनीहरुले तानसेन नगपालिकालाई कर बुझाउँदै आएका छन् ।