जेठ १४, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इण्डियन प्रिमियर लिग (आइपीएल)को पहिलो क्वालिफायरमा पुगेको छ । गएराति सम्पन्न लिगको अन्तिम खेलमा बेंगलुरुले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हरायो ।
लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा २ सय २८ रनको लक्ष्य बेंगलुरुले १८।४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । बेंगलुरुको जितमा कप्तान जितेश शर्मा र विराट कोहलीले अर्धशतकीय इनिङ खेले । कप्तान शर्माले अविजित ८५ रन र कोहलीले ५४ रन जोडे ।
मंयक अग्रवाल ४१ रनमा नट आउट रहे । ओपनर फिल साल्ट ३०, रजत पाटिदारले १४ रन बनाए । लखनउका विल ओरुकले २ तथा आवेस खान र आकाश सिंहले समान १ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । लखनउका कप्तान ऋषभ पन्तले शतकीय इनिङ्स खेले । पन्तले नट आउट १ सय १८ रन बनाए । ओपनर मिचेल मार्शले ६७ रनको अर्धशतकीय पाली खेले ।
अर्का ओपनर म्याथ्यु ब्रेट्ज्के १४ रन बनाए । निकोलस पुरन १३ रनमा आउट भए । बेंगलुरुका लागि रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।
बेंगलुरुले अब लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा बिहीवार पञ्जाब किंग्ससँग खेल्नेछ । बेंगलुरुको जितसँगै गुजरात टाइटन्सले इलिमिनेटर खेल्नु पर्ने भएको छ । गुजरातले शुक्रवार मुम्बई इण्डियन्ससँग इलिमिनेटर खेल्नेछ ।