जेठ १५, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशको केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै यस वर्षको मनसुन तेह्र दिनअगावै नेपाल भित्रने भएको छ। अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको आसाम र नेपालको नजिक मनसुनी जलवाष्पसहितको न्यूनचापीय प्रणालीको प्रवेश भइसकेको तथा बङ्गलादेश र भुटानका पूर्वी भेगमा मनसुन फैलिसकेको महाशाखाले जनाएको छ। नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ तारिख हो ।
यस वर्षको मनसुनमा देशव्यापी रूपमा विगतको भन्दा अधिक वर्षा हुने प्रक्षेपण गरिएको छ । सरकारका तर्फबाट राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२’ ले देशभरका चार लाख ५७ हजार घरपरिवारका करिब २० लाख मानिस बाढी, पहिरो, भारी वर्षा, डुबानलगायतबाट प्रभावित हुने प्रक्षेपण गरेको हो ।
बुधबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठकले कार्ययोजना पारित गरेको छ । उपत्यकाबाट पानी बाहिरिने एक मात्र बाटो चोभार गल्छी साँघुरो हुँदा गत वर्ष काठमाडौँ उपत्यकामा ठुलो क्षति भएको थियो । मुख्यतः नख्खु, कुलेश्वर, थापाथली, बल्खुलगायतका भू–भाग डुबानमा परेका थिए। त्यहाँ फेरि क्षति हुन नदिन चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।
यस्तै मौसमी प्रक्षेपणलाई हल्का रूपमा लिएर जिउज्यान जोखिममा नपार्न पनि प्राधिकरणले आम नागरिकलाई आग्रह गरेको छ ।