जेठ १६, काठमाडौं । काठमाडौँ-हेटौँडा जोड्ने अवरुद्ध कान्ति लोकपथ पुन सञ्चालनमा आएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका(८ स्थित बागमती खोलामा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि बिहीबार रातिदेखि सो सडक अवरुद्ध भएको थियो ।
उक्त स्थानमा पुनः डाइभर्सन बनाएपछि आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले उक्त सडक खण्डमा पर्ने बगुवा पुलको बेलिब्रिज पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएको छ ।
यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा गएरातिदेखि अवरुद्ध सडक खुलेको छ । बाढीले बगाएको डाइभर्सन बनाएर सडक खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
नवलपरासी प्रहरीका अनुसार अहिलेलाई साना गाडी र बस सञ्चालन हुन थाले पनि ठूला ट्रकलाई भने रोक लगाइएको छ ।