जेठ १६, नवलपरासी । गएरातिको वर्षाले विनयी त्रिवेणीको दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडक पूर्णरूपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान ६ बजेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
नवलपरासी बर्दघाट सुस्त पूर्वका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार सडक अवरुद्ध हुँदा गाडीहरू लामो जाममा परेका छन् भने यात्रु मारमा परेका छन् । विनयी त्रिवेणीमा पुल भाँचिएको कारण डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको छ ।
खोलाले डाइभर्सन बगाएको यो तेस्रोपटक हो । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा पुल भाँचिएपछि डाइभर्सनमार्फत गाडी आवतजावत गराउने गरिएको थियो ।
खोलाले डाइभर्सन बगाएपछि अत्यावश्यक साधनलाई होङ्सी सिमेन्टको बाटो भएर आवतजावत गर्न लगाइएको प्रहरीले जनाएको छ ।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-४ को खोर्सानी खोलामा पनि बाढीले अवरुद्ध सडक विहान ६ बजेदेखि वानवे गाडी मात्रै गाडी चल्न थालेको छ । खोर्सानी खोलामा गएराति सवा २ बजेदेखि नै सडक अवरुद्ध थियो ।
यता चोरमारामा बाढीले डाभर्सन बगाउँदा अवरुद्ध भएको सडकको अवरोध भने राति नै हटाइएको छ ।