जेठ १६, काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद् प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरेका छन् । यो छलफलपछि अबको केहीबेरमा कार्यव्यवस्था परामर्श समिति बैठक पनि बस्नेछ ।
छलफल तथा बैठक संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले आयोजना गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेपछि सभामुखले संसद खुलाउने प्रयासमा लागेका हुन् । जेठ १५ गते (हिजो) बजेट भाषण गर्न सहमत भएका दलले त्यसपछि विरोध निरन्तर रहने बताएपछि सभामुखले पहल थालेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् । रास्वपाले अनुसन्धान गर्न उच्च स्तरिय छानबिन समिति बनाउनुपर्ने बतायँदै आएको छ ।
यस्तै आजै विहान बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ ।