जेठ १५, काठमाडौं । सत्तारूढ दल एमाले र राजावादी दल तथा समूह बिहीबार एकै स्थानमा तर फरक–फरक समयमा प्रदर्शन गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई दललाई छ्ट्टाछुट्टै समयमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
५ जेठको दिन एमालेले गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउँदैछ भने राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापनालगायतका माग राखेर प्रदर्शन गर्न लागेका छन् ।
एमालेले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भृकुटीमण्डपदेखि रत्नपार्कसम्म सांस्कृतिक झाँकीसहितको प्रदर्शन गर्न लागेको हो । त्यसपछि राजावादी समूहले दिउँसो साढे दुई बजेपछि मात्र शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गर्न पाउने भएका छन् ।
दुवै दलले भृकुटीमण्डप, सहिदगेट, रत्नपार्कलाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरेपछि प्रशासनले लचकता अपनाउन आग्रह गरेको थियो । त्यसपछि बुधबार बेलुकी मात्रै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफ्नो प्रदर्शन २ बजेपछि गर्न सहमत भएका थिए ।
जिप्रकाका प्रवक्ता अशोककुमार भण्डारीले राजावादीको रत्नपार्कमा हुने प्रदर्शन २ बजेपछि मात्रै हुने बताए । उनले दुवै दलले एकै ठाउँ र समयमा कार्यक्रम गर्ने भएपछि सुरक्षा चुनौती थपिएको भन्दै जिल्ला सुरक्षा समितिको पटक–पटक बैठक राखेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेको बताए
उक्त छलफलपछि लिङ्देनले प्रदर्शन २ बजेपछि गर्न सहमत भएका हुन् । भण्डारीका अनसार त्यसअघि नै एमालेको प्रदर्शन सकिनेछ । उनले सोहीअनुसार सुरक्षा प्रबन्ध गर्न सुरक्षाकर्मीलाई निर्देशन भएको बताए ।
प्रहरीले कार्यक्रममा हुन सक्ने सम्भावित झडप रोक्न दुई पक्षलाई आमनेसामने हुन नदिने रणनीति अपनाएको छ । काठमाडौंबाट निस्कने राजावादीको जुलुस २ बजेअघि नै रत्नपार्क पुग्न सक्ने देखिए प्रहरीले उनीहरूलाई बाटोमै रोक्नेछ । प्रशासनले प्रदर्शनकारीको ‘मुभमेन्ट’ हेरेर सुरक्षाकर्मी परिचालन गर्ने रणनीतिमा प्रहरी पुगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले प्रदर्शनको ‘मुभमेन्ट’ विश्लेषण गरेर सुरक्षाकर्मी परिचालन हुने बताए । ‘सुरक्षाको आन्तरिक तयारी पूरा भएको छ । प्रदर्शनकारीको मुभमेन्ट कस्तो हुन्छ त्यसलाई विश्लेषण गर्छौँ । सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्छौँ । ब्याकअपमा सुरक्षाकर्मी तयारी अवस्थामा छन् । मुठभेड हुन नदिने प्रयत्नमा प्रहरी रहनेछ,’ उनले भने ।