जेठ १५, काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारले आगामी आर्थिक वर्षका बजेट सार्वजनिक गर्दैछ ।
बिहीबार दिउँसो ३ बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ ।
सङ्घीय संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।
त्यसैगरी राष्ट्रियसभाको अपराह्न १ः४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।
आगामी बजेटका लागि योजना आयोगले १९ खर्ब ६५ अर्बको सिलिङ दिएको छ । तर मध्यकालीन खर्च संरचना र स्रोत समितिले भने २० खर्ब ८८ अर्ब रुपैयाँ प्रक्षेपण गरेको छ । अर्थ मन्त्रालयले आयोगको सिलिङ र स्रोत समितिको प्रक्षेपणको बीचमा रहने गरि २० खर्बको हाराहारीको बजेट ल्याउने जनाएको छ ।
बजेटमा निर्माणाधीन राष्ट्रिय परियोजना समयमा सक्ने, सामाजिक सुरक्षाका कार्यक्रम परिस्कृत गर्ने र कृषिको व्यवसायीकरणसम्बन्धी कार्यक्रम प्राथमिकतामा छन् । यस वर्ष वृद्धभत्ता पाउनेको उमेर पनि सरकारले ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्याउने भएको छ । यस्तै कर्मचारीहरूको १० प्रतिशतसम्म तलब वृद्धि गर्ने तयारी रहेको स्रोतले बताएको छ ।
यस पटक सरकारले नयाँ योजना थप्नेभन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता राखेर बजेट ल्याउन लागेको हो । राष्ट्रिय योजना आयोगले योजना बैंकमा प्रविष्ट गरेका झन्डै १३ सय आयोजनामा बजेट केन्द्रित गरिँदैछ । नयाँ बजेटमा तीन करोड रुपैयाँमाथिका आयोजना मात्र समावेश भएको छ ।
सरकारले यस पटक उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्ने बताएको छ । स्वदेशमा औद्यागिक उत्पादन लागत घटाउन कच्चा पदार्थको सहज उपलब्ध गराउने नीति बजेटले लिने जनाइएको छ । नवउद्यम र स्वरोजगारलाई जोड दिने गरी कार्यक्रम बजेटमा समेटिँदै छ ।