जेठ १४, काठमाडौं । नेपालमा मनसुन सरदर मितिभन्दा चाँडै भित्रिने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सरदर मितिभन्दा अगाडि नै मनसुन प्रवेश हुने सम्भावना रहेको जनाएको छ ।
नेपालको पूर्वी भू–भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख भए पनि यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिएको महाशाखाले जानकारी दिएको छ ।
भारतको असामका केही भू–भागहरू तथा भुटान र बंगलादेशको पूर्वी भू–भागसम्म मनसुन आगमन भएको छ । यसैसाताको अन्त्यसम्ममा मनसुन भित्रिने महाशाखाले जनाएको छ । साथै यस मनसुनको बढी पानी पर्ने पनि अनुमान गरेको छ ।
यस्तै हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले देशभरको मौसममा आंशिक बदली भएको छ ।
महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रही केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
राति बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।