‘मुकुटको हुकुमी आदेश र जनताको शासन प्रणालीबीच तुलना हुदैन’

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८२ जेष्ठ १५, बिहिबार (१ दिन अघि)
  • ५० पटक पढिएको
‘मुकुटको हुकुमी आदेश र जनताको शासन प्रणालीबीच तुलना हुदैन’

जेठ १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतन्त्र र गणतन्त्रको तुलना नै नहुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बिहीबार टुँडिखेलमा आयोजित कार्यक्रमको सम्बोधनमा यस्तो बताएका हुन्

प्रधानमन्त्री ओलीले निरंकुश राजतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने बहसको विषय नै नभएको बताए । उनले राज्यका जिम्मेवारीमा रहेकाहरूको आचरण र व्यवहारमा सुधार गर्नुपर्ने, गरिबी, बेरोजगारी, भ्रष्टाचार जस्ता राष्ट्रका चुनौती भए पनि हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर नहुने बताए ।

‘निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने हाम्रो समाजको बहसको विषय होइन’, उनले भने, ‘राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नुपर्ने धेरै कुरा हुन सक्छन् । गरिबी, बेरोजगारी, भ्रष्टाचार– राष्ट्रका यी चुनौती हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर होइन, लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमान्दार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिन्छ ।’

प्रधानमन्त्री ओलीले गणतन्त्र प्राप्त भएको नभई हजारौं जनताको बलिदान र त्यागबाट आर्जन गरेको बताउँदै मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली अब जनताको निर्णयबाट स्थापित भएको गौरवपूर्ण इतिहास बिर्सनु नहुने बताए ।

हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरू ताक्ने प्रणालीको ठाउँमा आज जनता आफैँ लडेर, मतदान गरे उच्च पदमा पुग्ने अवस्था बनेको प्रधानमन्त्रीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस