असार १८, काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । मिश्रलाई आज दिउँसो नेपालगन्जबाट नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
मिश्र सन् २०६६ देखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्षको जिम्मेवारीमा थिए । यस अवधिमा बैंकमा अनियमितता, आर्थिक अपचलन र कर्जा घोटालासम्बन्धी गम्भीर आरोपहरू लागेको पृष्ठभूमिमा उनको संलग्नता देखिएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार उनी बैंक सञ्चालन गर्दा नियमनविपरीत ठूला कर्जा स्वीकृत, संस्थागत सम्पत्तिको दुरुपयोग तथा नियमनकारी निकायलाई गलत विवरण पेश गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । बैंकमा साढे २ अर्ब रुपैयाँ हिनामिना भएको उजुरी परेको थियो ।
यसअघि सोही प्रकरणमा प्रहरीले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन-२०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।