असार १९,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि दुई करोड ३१ लाख ३६ हजार सात सय ५० रुपैयाँको लागतमा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।
पोखराको स्थानीय पूर्वाधार विकास आयोजनाले पुल निर्माण गरेको हो । पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ । साथै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दा लामो बाटो भएर गाउँपालिकाको केन्द्र मुना पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।
२०८२ सालको मङ्सिरसम्ममा पूरा गर्नेगरी सम्झौता भएकामा निर्माण कम्पनीले समयअघि नै काम पूरा गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै पुल सञ्चालनमा आएको हो ।