सैनिक कल्याणकारी कोषको रकम हिनामिनामा सहायक रथी खड्का र मेजर कार्की बर्खास्त

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ १९, बिहिबार (१४ घण्टा अघि)
  • ७१ पटक पढिएको
सैनिक कल्याणकारी कोषको रकम हिनामिनामा सहायक रथी खड्का र मेजर कार्की बर्खास्त

असार १९, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले दुई सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । सैनिक आचरण विपरित कार्य गरेको भन्दै सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त गरेको हो ।

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना भएकोबारे भएको कोर्ट अफ इन्क्वायरीपछि सैनिक विशेष अदालतले बिहीबार उनिहरु विरुद्ध यो आदेश गरेको हो । भविष्यमा सरकार सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने फैसला भएको सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने फैसला सैनिक अदालतबाट भएको उनले बताए ।

यस्तै प्रवक्ता बस्नेतका अनुसार अपचलन भएको रकमसमेत दुवै जनाबाट असुलउपर गर्ने फैसला भएको छ । यो प्रकरणमा जोडिएका कतिपय अधिकारीले अवकाश समेत पाइसकेका थिए । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमार्फत ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको थियो ।

कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८/७९ र ०७९/८० मा अनियमितता भएको सूचना आएपछि महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो । प्रारम्भिक जाँचमा कैफियत देखिएपछि केही सैनिक अधिकारीहरुलाई सैनिक प्रहरी गणको हिरासतमा राखेर छानबिन गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस