असार १९, काठमाडौं । जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्धा दायर गरेको छ । हुदै नभएको विद्यालयको नाममा परियोजना पारी रकम हिनामिना गरेको आरोपमा उनिहरु विरुद्ध विषेश अदालत काठमाडौंमा मुद्धा दायर गरिएको हो ।
डोल्पाको ठूलीभेरी नगरपालिका–४ साविक दुनै गा.वि.स. २ र ३ का कुनै पनि वडा र बस्तीमा नरहेको विद्यालय दुर्गा प्रा.वि. तिप्लाको नाममा योजना पारेर रकम अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ ।
जिल्ला प्राविधिक कार्यालय, दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढासमेतको मिलेमतो तथा योजनामा काल्पनिक विद्यालय खडा गरी २ कोठे भवन निर्माणको लागि ७ लाख ६० हजार रुपैयाँ रकम विनियोजन गरी काल्पनिक उपभोक्ता समिति गठन गराई भुक्तानी दिए लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
उक्त विद्यालयको नाममा योजना पारेको तर विद्यालय भवन नबनाई रकम अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा दुर्गा प्राथमिक विद्यालयको नामबाट हालसम्म कुनै पनि विद्यालय सञ्चालनमा नरहेको, दुनै गाविस वडा नं. २ र ३ मा एउटै मात्र श्री लालिगुँरास आधारभूत विद्यालय रहेको जिल्ला शिक्षा कार्यालय, डोल्पाले जनाएको छ ।