असार १९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन र गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको जारी प्रतिरोध कायमै राख्ने जनाएको छ ।
बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा आउनुपर्ने विषयमा अडान कायमै राख्दै सदनमा निरन्तर प्रतिरोध गर्ने निर्णय गरेको महामन्त्रीमा कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकको निर्णयमा भनिएको छ, ‘भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने र छानबिनको लागि सहजीकरणको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको अडानबारे छलफल गरियो र पार्टीको अडान कायम राखी संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने ।’
यसैगरी, रास्वपाले निजामती विधेयकमा कुलिङ पिरियडमा भएको बदमासी संसद्को सार्वभौमिकतामाथि प्रहार भएको जनाएको छ । यसको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपापले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेको छ ।
‘कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई अनदेखा नगरी, यस कार्यमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दछ। संसद्को यो विधायकी भूमिकामा कुनै पनि चलखेल सह्य नहुने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ,’ निर्णयमा भनिएको छ ।