एकीकृत समाजवादीमा नेतृ झाँक्रीलाई पार्टीबाटै हटाउनेबारे छलफल

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८२ अषाढ १९, बिहिबार (१२ घण्टा अघि)
  • ५७ पटक पढिएको
एकीकृत समाजवादीमा नेतृ झाँक्रीलाई पार्टीबाटै हटाउनेबारे छलफल

असार १९, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि प्रश्न गर्ने नेतृ रामकुमारी झाँक्री घेराबन्दीमा परेकी छन् । पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकमा अधिकांश नेताले उनलाई निस्कासीत गनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

पार्टी उपमहासचिव मेटमणि चौधरीले उनले दिएको अभिव्यक्तिबारे बैठकमा ब्रिफिङ गरेका थिए । ‘पार्टी र नेतृत्वबारे उहाँको अभिव्यक्ति निकै गम्भीर छ । कारबाही गर्नुपर्छ भन्ने कुरा उठ्यो,” एक नेताले भने, “उहाँलाई कारबाही गर्नुपर्छ भन्नेमा प्रायः नेताहरू सहमत देखिनुभएको छ ।’

नेतृ झाँक्री पार्टी कार्यालय पुगेर सचिवालय बैठकमा आफूले बोल्न समय माग गरेकी थिइन् । तर बैठक केहीबेर बसेर सकिएको थियो । महासचिव घनश्याम भुसालको स्वास्थ्यअवस्थाका कारण बैठक छोट्याइएको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

केही दिन अघि एक सार्वजनिक कार्यक्रममा नेतृ झाँक्रीले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । त्यही अभिव्यक्तिलाई लिएर पार्टीभित्र चर्को विवाद छ ।

झाँक्रीले आफूलाई स्पष्टिकरण सोधिएको सार्वजनिक मिडियामा सुनेको तर आफूलाई कुनै जानकारी नभएको बताएकी छन् । यता पार्टीका उपाध्यक्ष खतिवडाले भने उनलाई अनुशासन आयोगले स्पष्टिकरण सोधेको दाबी गरेका छन् ।

‘पार्टीको अनुशासन आयोगले उहाँलाई स्पष्टीकरण सोधेको छ । त्यसले निश्चित समय लिएको छ र त्यो समयानुसार उहाँले स्पष्टीकरण दिनुहुनेछ भन्ने हामीलाई विश्वास छ’, उनले भने ।

पार्टीको आगामी सचिवालय बैठक असार २२ गते बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस