असार १९, काठमाडौं । नेपालका प्रतिष्ठित इन्जिनियरिङ कलेजहरूमध्ये एक एभरेष्ट इन्जिनियरिङ कलेज र अष्ट्रेलियाली लगानीमा सञ्चालित कृत्रिम बुद्धिमत्ता (AI) कम्पनी इन्टुजी प्रा.लि. बीच आज औपचारिक रूपमा आपसी सहकार्यको सम्झौता भएको छ ।
तीन वर्षदेखि नेपालमा कार्यरत इन्टुजी प्रा.लि. र एभरेष्ट इन्जिनियरिङ कलेज बीच अघिल्ला वर्षहरूमा पनि विभिन्न सहकार्यका कार्यक्रमहरू सञ्चालन हुँदै आएका थिए । ती कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै विधिवत् रूपमै वैधानिकता दिन आज यो सम्झौता भएको कलेज स्रोतले जनाएको छ ।
सम्झौताअनुसार इन्टुजी प्रा.लि. ले कलेजका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्ने, इन्टर्नसिपका अवसर उपलब्ध गराउने तथा विभिन्न प्रोजेक्टहरूमा संलग्न गराउनेछ । यता, कलेजले इन्टुजी प्रा.लि. का कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउनेछ ।
सम्झौताबाट विशेष गरी कम्प्युटर, सफ्टवेयर र सूचना प्रविधि संकायका विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ । ‘पछिल्ला २५ वर्षदेखि हाम्रो कलेजका विद्यार्थीहरू नीजि क्षेत्रका विभिन्न प्रतिष्ठानहरूमा दक्षता प्रदर्शन गर्दै आएका छन्, यस सम्झौताले अझ ठूलो अवसर दिनेछ’, कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले बताए ।
इन्टुजी प्रा.लि. का प्रमुख सूचना अधिकारी रितेश शाहले भने, ‘उच्च इन्जिनियरिङ शिक्षामा अग्रणी स्थानमा रहेको एभरेष्ट इन्जिनियरिङ कलेजसँग सहकार्य गर्न पाउनु हाम्रो कम्पनीका लागि गौरवको कुरा हो ।’
यो सम्झौता भविष्यमा नेपालमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा र नवप्रवर्तनात्मक प्रविधिको समन्वयमा सहयोगी कदम सावित हुने विश्वास गरिएको छ ।