जेठ ३१,चितवन । पूर्व शिक्षामन्त्री धनीराम (डिआर) पौडेलको पार्थिव शरीरमा उनकी श्रीमती, छोरीहरुका साथै नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले दागबत्ती दिएका छन ।
५४ वर्षीय पौडेलको शुक्रबार बिहान ७ बजे हृदयघातबाट निधन भएको थियो । उनी पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएको बेला शिक्षामन्त्री थिए ।
दागबत्ती दिनुअघि पौडेलको पार्थिव शरिरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए ।
माडी, रमाइलो डाँडा स्थायी घर भएका पौडेल घरमा बिहान काम गरिरहेको अवस्थामा एक्कासी ढलेको आफन्तले बताएका छन् । उपचारका लागि तत्काल माडीको बघौडा अस्पताल ल्याइए पनि उनलाई बचाउन नसकिएको स्वास्थ्यकर्मीहरुले जानकारी दिए ।
माडीको बघौडा अस्पताल अगाडि खुला चौरमा पौडेलको शरीर श्रद्धाञ्जलीका लागि राखिएको थियो । गृहमन्त्री रामबहादुर थापा बादल, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता अमिक शेरचन, बामदेव गौतम, शिक्षामन्त्री गिरीराजमणि पोख्रेल, नेकपाका प्रमुख सचेतक देव गुरुङ्, नेकपा प्रदेश नम्वर तीनका अध्यक्ष नारायण दाहाल, प्रदेश ३ का आर्थिक मामिला तथा कानुनमन्त्री शालिग्राम जमरकट्टेल, प्रदेशका सांसदहरु, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, भरतपुर महानगर प्रमुख रेनु दाहाल, माडी नगरप्रमुख ठाकुर ढकाल लगायतले श्रद्धान्जलि अर्पण गरेका थिए ।
श्रद्धान्जलि कार्यक्रममा नेकपाका अध्यक्ष दाहालले जारी गरेका शोक विज्ञप्ति पढेर गरेर सुनाइएको थियो । विज्ञप्तिमा पौडेलको निधनले सिंंगो पार्टी र देशलाई नै अपूरणीय क्षती पुगेको जनाइएको छ ।
बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट वि सं २०२२ कार्तिक ४ गते तत्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिनु भएका पौडेल वि.सं. २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहेका थिए ।
मोहनविक्रम सिंंह र निर्मल लामाले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशनको विद्यार्थी संगठनको कार्यकर्ताका रुपमा राजनीति सुरु गर्नुभएका पौडेल वि।सं। २०३९ सालमा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, वि.सं.२०४१ मा केन्द्रीय सदस्य हुँदै वि।सं।२०५१ मा तत्कालीन नेकपा एकता केन्द्र विभाजनपछि अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय संयोजक समेत बनेका थिए ।
दोस्रो संविधानसभामा उनी संविधान सभाको सदस्य बनेका थिए । त्यसै समयमा अध्यक्ष दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा उनले शिक्षा मन्त्रालयको जिम्मेवारी पूरा गरेका थिए ।