असार २५,काठमाडौँ । पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन ।
जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकाले गृह सुधार योजनाअन्तर्गत ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउन थालिएको हो ।
“सेवाग्राही र व्यवसायीलाई पूर्णसुरक्षा दिई बजार खुलाइने छ”, उनले भने, “यसबाट सेवाग्राहीलाई सजिलो हुनाका साथै पर्यटनको प्रवद्र्धन गर्न उक्त ठाउँका बजार खुलाउन थालेका हौँ ।”
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा गठित बजार खुला गर्नेसम्बन्धी गठित समिति विभिन्न मापदण्ड तयारी गरी खुला गर्नका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई प्रतिवेदन बुझाएको छ ।