काभ्रेको पनौतीमा पुनः बाढी, एक बेपत्ता

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २९, सोमबार (४ घण्टा अघि)
  • ५० पटक पढिएको
काभ्रेको पनौतीमा पुनः बाढी, एक बेपत्ता

वैशाख २९, काठमाडौं । काभ्रेको पनौती भीषण पानी परेको छ । गत वर्षको असोजमा जस्तै ठूलो पानी पर्दा पनौती नगरपालिका वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षती भएको छ ।

सोमबार दिउँसो एक बजेदेखि बेलुकी साँझसम्म परेको अविरल वर्षापछि पनौती नगरपालिका–५ स्थित सुब्बा गाउँमा कुलोले बगाउँदा सोही ठाउँ बस्ने अन्दाजी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी काभ्रेका एसपी कोमल शाहले जानकारी दिए । उनको अवस्था हालसम्म पनि अज्ञात रहेको छ ।

असोजको बाढीले क्षतविक्षत पारेका र अस्थायी रुपमा निर्माण गरिएका खानेपानीका पाइपहरु बगाएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जानकारी दिए । असोजको बाढीपछि निर्माण गरिएको ३ किलोमिटर अस्थायी बाटो पनि बगाएको छ । आलु खन्ने बेलाका खेतहरु डुवानमा परेका छन् ।

आजको वर्षातपछि रोशी खोलामा पुनः बाढी आएको छ । गत असोजको बाढीमा परी पनौती नगरपालिकामा मात्रै २० जनाको निधन भएको थियो ।

मौसमविद् रोजन लामिछानेले खोपासी क्षेत्रमा पछिल्लो ६ घन्टामा ४३ मिलिमिटर पानी परेको बताए । पछिल्लो तीन घन्टामा २० मिलिमिटर वर्षा भएको छ ।

मौसमविदका अनुसार ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा नै भनिन्छ । तर ६ घन्टामै ४३ मिलिमिटर र ३ घन्टामा २० मिलिमिटर हुनु चाहिँ धेरै वर्षा नै भएको हो ।

उनले थोरै समयमा धेरै वर्षा भएकाले एक्कासि बाढी आउने अवस्था बनेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस