चोरमारामा वैकल्पिक सडकबाट सवारी आवागमन, बीपी राजमार्ग अवरुद्ध

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ३०, मंगलबार (१ महिना अघि)
  • ७४ पटक पढिएको
चोरमारामा वैकल्पिक सडकबाट सवारी आवागमन, बीपी राजमार्ग अवरुद्ध

वैशाख ३०, काठमाडौँ । पूर्व पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा सडक अवरुद्ध भएको छ ।

सोमबार राति नवलपरासीको कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो । १८ चक्के ठूलो ट्रक पार गर्ने क्रममा पुल भासिएको थियो । यसअघि दुम्कीवासको फलामे पुल पनि भाँचिएको थियो ।

राजर्माग पूर्ण बन्द भएपछि सोमबार रातिदेखि नै वैकल्पिक सडक खुलाएर सवारी साधन आवतजावतको व्यवस्था मिलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिणतर्फ लागि तम्सरिया गाउँबाट खोला (हाल पानी नभएको) तरी रानीटार हुँदै फूलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सकिनेछ ।

पश्चिमबाट आएका सवारी साधनको हकमा फूलबारीबाट दक्षिणतर्फ लागि रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कने वैकल्पिक बाटोहरुको प्रयोग गरी हाल सञ्चालन भएको छ । टेलरलगायतका ठूला गाडीहरु भने भित्री सडकमा मोड नपुग्ने भएकोले सञ्चालनमा समस्या भएको छ । ती सवारी साधनलाई अन्य वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले भनेको छ ।

यसैबीच वर्षाले डाइभर्सन बगाउँदा काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको छ ।

डाइभर्सन बगाएपछि बीपी राजमार्ग भएर आवतजावत गर्ने गाडी रातिदेखि नै रोकिएको छ । पूर्वबाट आएका गाडीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाण्डौबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नमोबुद्ध नगरपालिका–६ र रोशी ७ जोड़ने हिमपाइप राखेर बनाइएको सडक पनि बाढीले बगाएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।

सोमबार दिउँसोदेखि परेको वर्षाका कारण पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् । उनको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस