मंसिर ५,धादिङ । धुनिबेशी १ भञ्ज्याङ पोखरीमा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । भञ्ज्याङ पोखरीमा स्थापना भएको स्वास्थ्य केन्द्रको नगरप्रमुख बालकृष्ण आचार्यले आज बिहिवार उद्घाटन गरेका छन। नगरपालिकाले भवन र कर्मचारीको व्यवस्था गरे पछि साउन पहिलो साताबाट साविक छत्रेदेउराली गाविसको भञ्ज्याङ पोखरीमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरी सेवा सुरु गरीएको थियो । नागरिकले पाउनुपर्ने हक अधिकारलाई प्रत्याभूत दिलाउने उद्देश्वले नेपाल सरकारले आर्थिक वर्ष २०७६ को साउन बाट स्थानिय तहका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना सुरुवात गरीएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले स्थानिय तहहरुले नागरिकको स्वास्थ्यको विषयमा राम्रो काम गरेकाले नागरिकले स्वास्थ्य क्षेत्रमा सेवा पाउन थालेको बताए । कार्यक्रममा बोल्दै नगर उपप्रमुख निरु खरेलले नगरका नागरिकले स्वास्थ्य सेवा पाउन बाट बञ्चित हुनु नपर्ने गरी नगरपालिकाले काम गरिरहेको बताएका छन। सामान्य खालका रोग लाग्दा पनि काठमाडौँका विभिन्न अस्पतालहरुमा धाउनु पर्ने समस्याको अन्त्य गर्न नगरपालिका लागीपरेको बताए ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नगर प्रमुख आचार्यले केन्द्रीय सरकार र प्रदेश सरकारले बनाएको कानुनका आधारमा स्थानिय तहले त्यसै अनुसार काम गरी प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्रको सुरु गरी नागरिकलाई स्वास्थ्य सेवाको दिलाएको बताएका छन । साथै नगरपालिकाले केहि समयमा नै साविकका तिन वटा स्वास्थ्य चौकीहरुमा एम्बुलेन्स सेवा सुरु गर्ने गरी काम गरी रहेको बताएका छन ।
आफूहरु निर्वाचित भएर आए पछि तिन वटा स्वास्थ्य चौकीहरुमा ल्याब सेवा सुरु गरी नगरका नागरिकहरु लाई सेवा दिदै आएको पनि बताएका छन् । कार्यक्रमका अध्यक्षता गर्नु भएका वडा अध्यक्ष चन्द्र बहादुर तामाङले वडा बाट पनि आगामी दिनमा आधारभूत स्वास्थ्य केन्द्रलाई केहि बजेट उपलब्ध गराई स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन पहल गर्ने बताएका छन।
सहकार्य :राजमार्ग खबर