फाल्गुण २६, काठमाण्डौ । विश्वबजारमा तेलको मूल्यमा २५ प्रतिशतले गिरावट आएको छ । सोमबार तेलको भाउ २५ प्रतिशतले घटेको रोइटर्स समाचार माध्यमले जनाएको छ । साउदी अरबले मूल्य घटाउने र अप्रिलमा कच्चा तेल उत्पादनको मात्रा बढाउने निर्णय गरेसँगै विश्वबजारमा गिरावट आएको हो । योसँगै विश्व तेल बजारमा सन् १९९१ पछि कै सबैभन्दा ठूलो नोक्सानी हुने देखिएको छ ।
तेल उत्पादन मुलुकहरूको समूह ओपेकले कोरोना भाइरसबाट उत्पन्न चिन्ताबीच बजारलाई स्थिर बनाउन भन्दै उत्पादनमा कटौती गर्ने प्रस्ताव अघि सारेको थियो । तर ओपेकले अघि सारेको प्रस्तावप्रति रुस अनिच्छुक देखिएपछि साउदी अरबले मूल्य घटाउने निर्णय गरेको हो । सोमबार ब्रेन्ट नामक कच्चा तेलको मूल्य प्रति ब्यारेल ११।३१ अमेरिकी डलरले घटेको छ । उक्त गिरावटसँगै विश्वबजारमा सन् २०१६ पछिकै कम मूल्यमा कच्चा तेलको कारोबार भइरहेको छ ।