चैत्र १,भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्च र युवा सङ्घ नेपाल, भक्तपुर शाखाले मंगलबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा पर्साको पोखरिया नगरपालिकाका–६ का वडाध्यक्ष सियानन्दप्रसाद चौहान र जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोलगायतलाई प्रवेश गराएका छन् ।
नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमालेको देश बनाउने सही बाटो र गन्तव्यलाई मान्दै अहिले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको बताए।
हिमाल, पहाड र तराईका प्राकृतिक विविधतायुक्त नेपाल गरिबी र पछ्यौटेपनमा रहिरहन नसक्ने बताए। उनले नेपालले आफ्नो उत्पादन गरेर अरु मुलुकलाई निर्यात बढाउनेतर्फका योजना अघि सारेर आत्मनिर्भर मुलुक बनाउने एमालेको अभियानमा साथ दिन आग्रह गरे ।
अध्यक्ष ओलीले औद्योगिक क्षेत्रको विस्तार, उत्पादन र रोजगारी बढाएर मुलुकलाई राष्ट्रिय अर्थतन्त्रलाई माथि लान सीता जन्मभूमि जानकी क्षेत्रको मधेस प्रदेश सक्षम भएको बताए। उनले आफ्नो सरकारको कार्यकालमा सुरु भएको वीरगञ्ज–काठमाडौँ रेलजस्ता आयोजना अघि बढाउन एमालेले पुनः सरकारको नेतृत्व गर्नुपर्ने बताए।