श्री एयरलाइन्सले टर्बोप्रोब ‘क्यू ४००’ जहाज ल्याउने ! भरतपुर र पोखरामा पनि उडान योजना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन ७, मंगलबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फागुन ७,काठमाडौँ । श्री एयरलाइन्सले दुईवटा टर्बोप्रोब ‘क्यू ४००’ जहाज फागुन मसान्तभित्र ल्याउने भएको छ। कम्पनीले क्षमता विस्तारका लागि बम्बार्डियर कम्पनीको तीनवटा ७८ सीट क्षमताको टर्बोप्रोब ल्याउने योजना बनाएको थियो।

कम्पनीले तेस्रो टर्बोप्रोब भने आउँदो वैशाखमा ल्याउने योजना बनाएको छ। टर्बोप्रोब चलाउन १४ महिना अघि आवेदन दिएको कम्पनीले बल्ल अनुमति पाएको थियो। कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार दुईवटा टर्बोप्रोब फागुन मसान्तभित्र ल्याइनेछ भने बाँकी एउटा जहाज वैशाखभित्र ल्याइनेछ।

टर्बोप्रोब सञ्चालनका लागि कम्पनीले तीनजना पाइलट र तीनजना को पाइलटलाई इथोपियन एयरलाइन्समा तालिमको लागि पठाइसकेको उनले जानकारी दिए।नेपाल नागरिक उड्डयन प्राधिकरणले एनओसी ‘नो अब्जेक्सन सर्टिफीकेट’ दिएपछि टर्बोप्रोबले उडान अनुमति पाउनेछ।प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागका अनुसार गत शनिबार प्राधिकरणका वरिष्ठ क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा श्री एयरलाइन्सबाट तीन सेट क्रु मेम्बर तालिममा गएका हुन्।

श्री ले ल्याउन लागेको टर्बोप्रोब नेपाली आकाशको लागि नयाँ भएकाले प्राधिकरणले विदेशी प्राविधिक ल्याउने योजना बनाएको जानकारी दिएको छ। ‘बम्बार्डियरको क्यु ४०० नेपाली आकाशको लागि नयाँ फ्लिट हो। हामीसँग यसका लागि दक्ष जनशक्ति छैनन्। हामीले केही महिनाको विदेशी प्राविधिक ल्याएर यहीँका जनशक्तिको क्षमता विस्तार गर्ने योजना बनाएका छौँ।’विभागका एक उच्च पदाधिकारीले भने।

कम्पनीले जहाज ल्याएलगत्तै विभिन्न नयाँ गन्तब्यमा उडानका लागि योजना बनाउन सुरु गरिसकेको छ।श्रीले टर्कोप्रोब ल्याइसकेपछि अन्य निजी वायुसेवा कम्पनीमा प्रतिस्पर्धा बढ्नेछ। श्रीले फिंक्स उडान थालेपछि उड्डयन क्षेत्रमा प्रतिस्पर्धा सुरु भएको थियो। यो प्रतिस्पर्धाले भाडा समेत घटेको थियो। श्रीको टर्बोप्रोबले भरतपुर, पोखरा र सिमरा लगायतका क्षेत्रमा पनि प्रतिस्पर्धा सुरु हुनेछ। अहिले यो क्षेत्रमा वुद्ध र यतिको मात्रै बजार हिस्सा छ।

कस्तो यो जहाज ?

पाँच हजार ७१ हर्सपावरयुक्त यो जहाजको अधिकतम वेग क्षमता प्रति घण्टा छ सय ६६ किलोमीटर रहेको छ। सात हजार छ सय ६० मिटरको उचाईसम्म उड्ने क्षमता रहेको जहाज प्रति लिटर इन्धनले ०.३४ किलोमिटर माइलेजमा उडान गर्न सक्ने क्षमता रहेको कम्पनीले बताएको छ।

छ हजार चार सय २३ लिटरको फ्युल ट्यांक क्यापसिटी भएको यो जहाजमा म्याक्सिमम टेक अफ वेट क्षमता २९ हजार दुई सय ५७ केजी रहेको छ भने पेलोड आठ हजार छ सय ६९ केजी रहेको छ।

३२ मिटर लम्बाई रहेको जहाजको क्याबीन हाइट १.९५ मीटर रहेको छ भने क्याबीन वाइड्थ २.५१ मिटर र क्याबिन लेन्थ १८.८० मीटर रहेको कम्पनीले बताएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस