फागुन १२,काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार ७५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो ।
उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो समय निजी क्षेत्र सिमेन्ट उद्योग स्थापनाका लागि आकर्षित भएको र ठूलो मात्रामा लगानी गर्न तयार भएको देखिएको छ । खाना पकाउने ग्यासको व्यवसाय गर्दै आउनुभएका उद्योगी शिवप्रसाद घिमिरेसहित नयाँ उद्योगीले समेत सिमेन्ट उद्योगमा लगानी गर्ने इच्छा देखाएका हुन् ।
सरकारले लिएको नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । सो उद्योगमा रु दुई खर्बको लगानी भएको र वार्षिक रु एक खर्ब ५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यसै वर्षदेखि आत्मनिर्भर भएको हो । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने बताउनुभयो ।
संसारमा सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा सन् १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा हिमाल सिमेन्टले पहिलो उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलेदेखि मात्रै लगानी शुरु गरिएको हो । नेपालमा हाल ५६ सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी स्वामित्वको हो ।
नेपालमा गत वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै त्यति नै खपत भएको छ । नेपालका उद्योगको क्षमता भने एक करोड ३० लाख टन रहेको छ । विश्वमा सिमेन्टको कूल उत्पादन वार्षिक चार अर्ब २० करोड टन रहेकामा सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको छ । खानी तथा भूगर्भ विभागका अनुसार १६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा रहेको छ ।
रासस