जेठ ३० चितवन । पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले शक्तिखोर औद्योगिक क्षेत्रले चितवन मात्रै नभएर देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने समेत बताएका छन् । चितवनको कालीका नगरपालिका स्थित डिपिआर सम्पन्न भई ईआईएको तयारीमा रहेको शक्तिखोर औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै उनले यस्तो बताएका हुन्।
स्थलगत अवलोकनका क्रममा चिनीयाँ टोलीसँगै औद्योगिक क्षेत्रको सम्भाव्यताका बारेमा छलफल गरिएको थियो । उद्योग सञ्चालनका लागि शक्तिखोर औद्योगिक क्षेत्र निकै महत्वपूर्ण स्थान हुनसक्ने र औद्योगिक प्रवर्धनमा यसले देशकै पहिचान दिनसक्ने टोलीको धारणा थियो ।
प्रदेश सदस्य कृष्ण खनालले प्रदेश नं. ३ अन्तर्गत बन्ने तयारीमा रहेको यस परियोजनालाईलाई प्रदेशले गौरवको रुपमा लिएको र छिट्टै नै यसको निर्माण कार्य अगाडि बढ्ने बताए । त्यस्तै चितवन उद्योग संघका अध्यक्ष एवं नेपाल उद्योग परिसंघ राष्ट्रिय परिषद् सदस्य भेषराज दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्र निर्माण भएसँगै विभिन्न ठाउँमा छरिएर रहेका साना, मझौला र ठूला उद्योगहरु एकैठाउँमा हुने हुँदा पनि यस औद्योगिक क्षेत्रको सम्भावना बढेको बताए ।
त्यस्तै कालीका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले कालीका नगरपालिकाभित्र बन्ने शक्तिखोर औद्योगिक क्षेत्रले कालीका नगरपालिकाको मात्र नभई समग्र राष्ट्रको ध्यान तानेको हुँदा यस परियोजनालाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताए । स्थानीय सरोकारवालाहरुले निकै महत्वका साथ हेरिएको यस परियोजनालाई स्थानीयको साथ र सहयोग रहने समेत विश्वास गरिन्छ ।
चिनीयाँ टोलीसँगै पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डे, प्रदेश सभा ख क्षेत्र नं. १ का सदस्य कृष्ण खनाल, चितवन उद्योग संघका अध्यक्ष एवं नेपाल उद्योग परिसंघ राष्ट्रिय परिषद् सदस्य भेषराज दुवाडी, कालीका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, कालीका नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष विनोद रेग्मी, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं कालीका इकाई समितिका संयोजक प्रकाशचन्द्र भट्टराई, स्थानीय सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।