माघ २९, काठमाण्डौ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद चलिरहेका बेला नेपाल आएका एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स सरकार तथा पार्टीका उच्च अधिकारीहरुलाई भेटेर फर्किएका छन् ।
प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँगको भेटपछि एमसीसी अनुमोदन हुनेमा ब्रुक्स आश्वस्त बनेर फर्केको उनीसँग भेटेका अधिकारीहरुले बताएका छन् । चार दिने भ्रमणमा शुक्रबार नेपाल आएका ब्रुक्सले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङसँग छुट्टाछुट्टै भेट गरेका थिए । ब्रुक्स एमसीसीको युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका कार्यक्रम हेर्ने सहायक उपाध्यक्ष हुन् ।