फागुन ३,काठमाडौँ । पर्यटनमन्त्री प्रेम आलेको सक्रियता पछि पछिल्लो समय क्यासिनोले धमाधम राजस्व तिर्न थालेका छन् । पर्यटन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार यस वर्ष हायात होटलमा रहेको प्राइड इन्टरटेन्मेन्ट प्रालि, होटल अन्नपूर्ण डेलामार रहेको एटलाइन्टिक रिक्रियसन प्रालि, मल्ल होटलमा रहेको बल्लिज नेपाल प्रालि र इभरेष्ट होटलमा रहेको डेन्टइन नेपाल प्रालिले ६ करोड ५० लाखका दरले राजस्व तिरेका छन् ।
यस्तै बाँकेस्थित भ्यू होटल सिद्धार्थमा रहेको ज्याकपट गेमिङ सेन्टर र बाराको इच्छा होटल परिसरमा रहेको स्माइल कलेक्सनले २-२ करोड रुपैयाँ राजस्व तिरेका छन् ।
बाँकेको होटल सोल्टी शिवक्रिम होटल्स तथा रिर्सोटमा रहेको इम्पेरियल इन्टरटेन्मेन्ट र सोल्टी होटलमा रहेको माजोङ इन्टरटेन्मेन्टले समेत ६ करोड ५० लाखका दरले रोयल्टी बुझाएका छन् ।
विभिन्न चार स्थानमा सञ्चालित रक इन्टरनेशनले ४ करोड, होटल निर्वाण भैरहवामा रहेको निर्भाना लक्जरीले १ करोड, होटल स्नेहा नेपालगन्जमा रहेको बेलिज इन्टरटेन्मेन्टले २ करोड ५ लाख रुपैयाँ रोयल्टी बुझाएका छन् ।
झापास्थित होटल मेची क्राउनमा रहेको भेगस रिक्रियसन प्रालिले ६ करोड ६० लाख, बाँकेस्थित होटल स्टारलाइटमा रहेको भेन्यू रिक्रियसन प्रालिले २ करोड ५ लाख, भैरहवास्थित होटल नान्स परिसरमा रहेको सिद्धार्थ गेमिङ जोन प्रालिले २ करोड ५ लाख, बाँकेस्थित कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा रहेको ओम क्रयम्बकम इन्टरटेन्मेन्टले २ करोड ५ लाख र बाँकेको नेपालगञ्जस्थित होटल सिटी प्यालेसमा रहेको सेपियर इन्टरटेन्मेन्टले समेत २ करोड ५ लाख रुपैयाँ राजस्व तिरेको छ । होटल अलफ्टमा रहेको बाल्डो डाइनेष्टी इन्टरटेन्मेन्टले ६ करोड ६० लाख रुपैयाँ राजस्व तिरेको छ ।
मन्त्रालयका अनुसार विभिन्न स्थानमा क्यासिनो चलाउने सेन्ट्रल मिडिया प्रालिले सोमबार ४ करोड बुझाएसँगै यो वर्ष राजस्व ७५ करोड ४५ लाख रुपैयाँ संकलन भएको हो ।