विश्वप्रकाशको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ३, शनिबार (५ घण्टा अघि)
  • १४ पटक पढिएको
विश्वप्रकाशको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद

जेठ ३, काठमाडौं । सत्तारुद दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद भएको छ । शर्माले शनिबार ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा संवाद गरेका हुन् ।

शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे सगरमाथामा बेसक्याम्प पुगेका थिए । ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर सुरु गरिएको संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने १६ बुँदे कार्यहरू बारे स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले वाचन गरेका थिए ।

सगरमाथा आरोहणका लागि लुक्लाबाट पाँच दिन लगातार पदयात्रा गरेर सगरमाथा बेसक्याम्प पुगेका शर्माले हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् ।

संवादका १६ बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताए । पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

शर्माले बेसक्याम्पमा सञ्चार टावर, भरियाको बीमा, सुरक्षा युनिट जस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिँदै कार्बन उत्सर्जन बढी गर्ने ठूला राष्ट्रहरूमाथि दबाब बढाउन साना राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्ने बताए ।

कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा आशिष पौडेल, मिङ्मा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले विशेष योजना बनाउनु पर्नेमा ध्यानाकर्षण गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस