कुलेखानी पूर्ण क्षमतामा चलाइयो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन १२, शनिबार (७ महिना अघि)
  • १०३ पटक पढिएको
कुलेखानी पूर्ण क्षमतामा चलाइयो

असोज १२,काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनाको इन्द्रसरोवर ड्यामको (बाँध) पानी बढ्न नदिन पूर्ण क्षमता (६० मेगावाट)मा विद्युत् उत्पादन थालिएको छ । ड्याममा मिसिने सिमखोलाको पानी पनि डाइभर्ट गरेर खोलामै बगाइएको छ ।

जलाशययुक्त रहेको यो आयोजना हिउँद र सुक्खायाममा मात्र सञ्चालन गरिने भए पनि पानीको बहाव थप बढ्न नदिन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको हो । यद्यपि, विद्युत्को माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यकताअनुसार आयोजना चलाइन्छ । यसअघि बिहीबारसम्म तीन दिन आयोजना पूर्ण रूपमा बन्द थियो ।

‘शुक्रबार हरेक तीन घण्टामा एक मिटरका दरले इन्द्रसरोवर भरिन थालेको थियो । अझै पानी पर्ने भनिएको छ । ओभरफ्लो हुने जोखिम बढेपछि आयोजना चलाएका हौँ,’ कुलेखानी जलविद्युत् १ का प्रमुख तारादत्त भट्टले भने । ड्यामको पानी ओभरफ्लो हुने जोखिम भएपछि सिमखोलाको पानी पनि डाइभर्ट गरिएको भट्टले बताए ।

यो खोलाको पानी सुरुङमार्फत ल्याएर ड्याममा जम्मा गरिन्छ । तर, सुरुङ बन्द गरेर खोलामै बगाइएको हो । ‘यसले ड्याममा आउने पानीमध्ये १०–१५ प्रतिशतसम्म कम गरेको छ,’ भट्टले भने, ‘सिमखोलाको पानी डाइभर्ट र आयोजना पूर्ण क्षमतामा चलाएर २५ प्रतिशतसम्म पानी व्यवस्थापन (कम) गरिएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस