राक्सिराङमा चट्याङको पूर्वसूचना दिने प्रणाली जडान

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १७, बुधबार (३ दिन अघि)
  • ८४ पटक पढिएको
राक्सिराङमा चट्याङको पूर्वसूचना दिने प्रणाली जडान

वैशाख, १७ हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङको पूर्वसूचना दिने प्रणाली जडान गरिएको छ । पिपुल इन निडको आर्थिक सहयोगमा मंगलबार चट्याङजन्य प्रकोपबाट जनधनको क्षति न्यूनीकरणका लागि पूर्वसूचना दिने अत्याधुनिक प्रणाली जडान गरिएको हो ।

साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा स्थापना गरिएको यो प्रणाली दक्षिण एसियामै पहिलोपटक स्थायीरूपमा प्रयोगमा ल्याइएको अनुसन्धानकर्ता तथा नेटवर्कका अध्यक्ष श्रीराम शर्माले जानकारी दिए ।

उनका अनुसार, चट्याङ आउनुभन्दा करिब १६ मिनेट अघिनै सूचना दिनसक्ने यस प्रणालीले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियस भित्र साइरन मार्फत चेतावनी दिनेछ । यसअघि नगरकोटमा सफल परीक्षण गरिएको प्रणाली राक्सिराङमा पहिलोपटक स्थायी रूपमा जडान गरिएको शर्माले बताए ।

यस प्रणाली अन्तर्गत एउटा मुख्य सेन्सर र आठवटा साइरन जडान गरिनेछ । प्रमुख स्थानहरूमा राखिने साइरनहरू क्रमशः वडा नम्बर १ को राम्चे, वडा २ र ३ को भाट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुर, वडा ६ को सिलिङ्गे विद्यालय, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को कन्द्राङ प्रहरी चौकीमा जडान गरिनेछ ।

मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिका चट्याङको उच्च जोखिममा छन् । चालु आर्थिक वर्ष साउन यता मकवानपुरमा चट्याङ लागेर ६ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस