पर्सामा रातको १० बजेपछि ‘डीजे’ बजाउन रोक

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १८, बिहिबार (२ दिन अघि)
  • ६० पटक पढिएको
पर्सामा रातको १० बजेपछि ‘डीजे’ बजाउन रोक

वैशाख १८, पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको स्वास्थ्य र दैनिकीसमेत प्रभावित हुनेगरी विवाह, व्रतबन्ध तथा धार्मिक-सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डीजेलगायत उपकरण प्रयोगलाई निरुत्साहित गर्नका लागि अनुरोध गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बुधबार बसेको बैठकले ध्वनि प्रदूषणका गतिविधि निरुत्साहन गर्नका लागि आह्वान गरेको हो ।

‘साँस्कृतिक कार्यक्रमहरूमा गरिने आतसबाजी र पटाकाको प्रयोगलाई पूर्णरूपले प्रतिबन्ध लगाउने निर्णय भएको छ’, उनले भने, ‘यो निर्णयविरुद्ध कार्य गर्ने/गराउनेलाई कानूनको दायरामा ल्याइनेछ । सीमावर्ती क्षेत्रबाट हुने पटाका, डिजेलगायतका उपकरणको प्रवेशलाई कडाइका साथ नियमन गरिनेछ ।’

बैठकले होटल, क्याटरिङ र पार्टी प्यालेसमा प्रयोग गरिने डिजेलगायतका उपकरणको प्रयोगलाई रातको १० बजेपश्चात् पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

प्रशासनले विवाह, व्रतबन्ध तथा धार्मिक-साँस्कृतिक कार्यक्रमको बुकिङ गर्दा सम्बन्धित होटलरपार्टी प्यालेसले आयोजकसँग डिजे, पटाकाको प्रयोगलाई पूर्ण बन्देज लगाइएको विषय खुलाई सो बेहोराको सहमतिपत्रमा हस्ताक्षर गराएर मात्र बुकिङ गर्ने निर्णय गरेको प्रजिअ अर्यालले जानकारी दिए ।

साथै यो क्षेत्रका व्यवसायीहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व र बक्यौता रकम नियमित रूपमा बुझाउने र सोको सूक्ष्म अनुगमन गरी कारबाहीको दायरामा ल्याउने पनि निर्णय भएको छ ।

जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले ऐन कानुनविपरीत पटाका तथा आतसबाजी गर्नेलाई विस्फोटक पदार्थ ऐनबमोजिम कारबाहीको दायरामा ल्याउने जानकारी दिए । ‘सुरक्षा निकायले पनि निरन्तर अनुगमन गरेर कानुनविपरीत कार्य गर्नेलाई कानूनी दायरामा ल्याउनेछौँ’, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस