मंसिर २२,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् । नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।
तर, समयमै सुरु नभएको भन्दै नेताहरु हिँडेका हुन् । यसबारे सोध्दा प्रवक्ता श्रेष्ठले आफूले सँधै समयको पालना हुनु पर्नेमा जोड दिँदै आएको बताए । अरु कार्यक्रम र बैठकहरुमा निर्धारित समयमा पुग्ने र १५ मिनेटसम्म सुरु नभए हिड्ने गरेको भन्दै उनले भने, ‘आज पनि २० मिनेट कुरेँ । बैठक सुरु नभएपछि हिँडेको हुँ ।’
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पूर्वसाँसद तथा उदयपुरका क्यान्सरपीडित नेता मणि खम्बुसँग छलफल गर्दा केहीसमय ढिला भएपछि बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ आफुहरुलाई अध्यक्षद्वयले अपमान गरेको भन्दै बालुवाटारबाट बाहिरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।