मंसिर २४,काठमाडौँ । चीनले केरुङ -काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ ।
काठमाडौंमा सोमबार आयोजित नेपाल -चीन रेल्वे कोअपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेशनल रेल्वे अथोरिटी चीनका उपप्रशासक आन लुसुङ नेतृत्वको सो कमिटीको बैठकमा चिनियाँ पक्षले नेपाललाई केरुङ– काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी प्रतिवेदन बुझाएको हो ।
केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी चीनले तयार पारेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले जानकारी दिनु भयो । बैठकमा दुवै पक्षबीच त्यस प्रतिवेदनमा आधारित भएर विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने विषयमा पनि छलफल गरिएको छ ।
बैठकले काठमाडौं(पोखरा रेलमार्ग क्षेत्रको स्थलगत भ्रमण चिनियाँ पक्षले गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आन नेतृत्वको चिनियाँ उच्चस्तरीय टोली मंगलबार रसुवा र बुधबार पोखरा जाने कार्यक्रम पनि तय भएको सचिव अधिकारीले बताए ।
१ सय ७१ किलोमिटर लामो प्रस्तावित काठमाडौं-पोखरा रेलमार्ग निर्माणका लागि चीनको सरकारी कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले यस अघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ ।
नौ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजना रहेको यो रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । यता, केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्न ढिलाई नगर्न पनि दुवै पक्ष सहमत भएका छन ।
चीनमा आयोजना हुने यो कमिटीको आगामी बैठकले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको लागि आवश्यक विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले बताए ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि रेलमार्ग निर्माणको तयारीको कामले गति लिएको हो ।