बैशाख ३१,सौरहा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको आज उद्घाटन गर्दै उनले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए ।
सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए ।
सरकारले अहिले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न खोजेको भन्दै उनले यसले साना मिडियालाई सहयोग पुग्ने बताए । क्लिन फिड लागू हुँदा रु छ –सात अर्ब जोगिने पनि उनले दावी गरे । कालो झण्डा लिएर हिँड्नेसँग नडराउने भन्दै उनले भने, “प्रजातन्त्रमा कालो झण्डा, जुलुस सबै खाउँला तर लोकतान्त्रिक प्रणालीलाई सुढृढीकरण बनाउने कुरामा पछि हट्दैनौँ ।” मन्त्री बाँस्कोटाले सरकारले पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुपर्छ भनेको तर दिनुहुँदैन भन्नेको मोर्चाबन्दी बनेकामा असन्तोष व्यक्त गरे । कार्यक्रममा उनले सरकार राष्ट्रको समृद्धिका लागि डिजिटल नेपाल अभियानमा लागिपरेको बताए ।