‘कुख्यात’ माओवादी नेताको थुनामै मृत्यु, देशकै एक चौथाइ जनताको हत्यामा संलग्न थिए उनी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण २०, सोमबार (५ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ ।  नेपालमा अहिले विगतको सशस्त्र द्वन्द्वका घटनालाई लिएर हेगको चर्चा भइरहेको बेलामा २० औं शताब्दीमा माओवादी आन्दोलन गरेर देशकै झण्डै एक चौथाइ जनसंख्याको हत्या गरेको आरोप लागेका एक नेताको आइतबार गुमनाम मृत्यु भएको छ । कम्बोडियाका खमेरुज नेता नुओन चीको ९३ वर्षको उमेरमा आइतबार मृत्यु भएको हो ।

बीबीसीले जनाए अनुसार उनलाई संयुक्त राष्ट्र संघले साथ दिएको अन्तर्राष्ट्रिय अदालतको पहलमा आफ्नो शासन कालमा गरेको नरसंहारलाई लिएर आजीवन कारावासको सजाय सन् २०१८मा सुनाइएको थियो । उनी पोलपोटको नेतृत्वको खमेरुज शासनमा दोस्रो व्यक्तिको रुपमा सत्तामा रहेका थिए । खमेरुज सन् १९७५ देखि १९७९ सम्म क्याम्बोडियाको सत्तामा थियो ।

खमेरुज ट्रिबुनल नोम्पेन्हले उनको बारेमा अघिल्लो वर्ष आजीवन काराबासको फैसला सुनाएको हो । पीडितहरु मार्फत चर्को दबाब परेपछि खमेरुज युद्धको बेलाको मुद्दा हेर्नका लागि क्याम्बोडियाको अदालतमा नै असाधारण च्याम्बर्स खडा गर्ने बारेमा संयुक्त राष्ट्र संघ र क्याम्बोडिया सरकारबीच सहमति भएको थियो ।
सोहीअनुसार नै खमेरुज शासनको समयका मुद्दा अघि बढाइएका हुन् । सो च्याम्बर्समा स्वदेशी तथा विदेशी दुवै खाले न्यायाधीशहरु रहने व्यवस्था छ ।

खमेरुजको चारवर्षको शासनकालमा करिब २० लाख मानिस मारिएको आशंका गरिएको छ । क्याम्बोडियाको अदालतको असाधारण च्याम्बर्सका प्रवक्ताले ९३ वर्षिय नुओनको अस्पतालमा मृत्यु भएको पुष्टि गरेका छन् । मृत्युको कारण भने खोलिएको छैन । क्याम्बोडियालाई सन् १९७५ मा नियन्त्रणमा लिएपछि माओवादी खमेरुजले देशलाई मध्य युगतिर लग्ने प्रयास गरेको थियो । लाखौं मानिसहरु भोकमरी, रोग र अत्यधिक कामले पीडित भएका थिए ।

नुओन चीलाई ‘इयर जीरो’ पोलिसीका सिद्धान्तकारका रुपमा मानिन्छ । ‘इयर जीरो’ भन्ने शब्द फ्रान्सको राजतन्त्र सन् १७९२ को सेप्टेम्बर २० मा उन्मुलन भएपछि क्वाइन भएको हो । त्यतिबेला राजतन्त्रको अन्त्य भएपछि नयाँ क्यालेण्डरको घोषणा गरेर पहिलो वर्षको शुरुवात गर्न खोजिएकोमा यसलाई क्याम्बोडियाका माओवादी खमेरुजलेपनि सिको गरेका हुन् । यसका मुख्य सिद्धान्तकार हिजो मृत्यु भएका नुओन ची मानिन्थे ।

यसको अवधारणा भनेको समाजमा विद्यमान सबै खालका संस्कृति र परम्पराहरु पूर्ण रुपमा ध्वस्त गर्ने वा अस्वीकार गर्ने र नयाँ क्रान्तिकारी संस्कृति त्यो ठाउँमा पुनस्र्थापित गर्ने भन्ने हो । जीरो इयर शुरु हुनु अघिका देशका सबै इतिहासहरुलाई नै असान्दर्भिक मान्ने गरिन्छ ।

खमेरुज शासनको अन्त्य भएपछि सन् १९७९मा नुओन ची आफ्ना समर्थकहरुसहित पहाडी इलाकामा गएका थिए ।शान्ति प्रक्रियाको प्रावधान अनुरुप उनलाई राज्यले सन् १९९८मा क्षमादान दिएको थियो । तर, पीडित र अन्तर्राष्ट्रिय दबाबमा क्याम्बोडियाले पूर्व नेता नुओनलाई सन् २००७मा पक्राउ गरेको थियो । त्यसपछि नुओन ची र पूर्व राष्ट्र प्रमुख खिउ साम्फानलाई नरसंहार र मानवता विरुद्धको अपराधमा दोषी ठहर गरिएको थियो । यस्तै अर्का नेता काइङ गुएक इभ जो कमरेड डच भनेर समेत चिनिन्थे उनलाई पनि राष्ट्र संघले सहयोग गरेको अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो ।
अधिकांशका लागि पोल पोट २० लाख मानिसको हत्यामा पर्यायवाची जस्तै मानिन्छन् । तर, आइतबार मृत्यु भएका नुओन ची १९७० को दशकमा पोल पोटलाई सघाउने महत्वपूर्ण व्यक्ति थिए ।

त्यसैले उनलाई ‘ब्रदर नम्बर टु ’भनेर समेत चिनिने गरेका थिए ।उनले अन्तिम समय सम्मपनि घटनाको जवाफदेहिता लिन अस्वीकार गर्दै आएका थिए । उनले एक पटक मिडियासँग चाहिँ भनेका थिए, “हामीले आन्तरिक देशद्रोहीलाई मारेका थिएनौं वा हामीले शत्रुलाई ध्वस्त पारेका थिएनौं भने अहिलेको क्याम्बोडिया नै रहने थिएन ।”

नुओन चीले आफूलाई राष्ट्रवादी ठान्ने गरेको भएपनि इतिहासले भने उनलाई क्रुर नेताको रुपमा संझिने अवस्था रहेको छ । जसबाट आफ्नै देशका झण्डै चौथाइ जनताको हत्या भएको थियो । जसलाई २० औं शताब्दीका खराब मध्येको एक अपराध गर्ने व्यक्तिका रुपमा इतिहासले संझिने अवस्था भएको छ । उनका प्रमुख नेता पोल पोटको भने सन् १९९८ को अप्रिल १५ मै निधन भएको थियो । अन्तिम समयमा उनी घरमै नजरबन्दमा रहेकोमा सोही क्रममा आत्महत्या गरेको बताइने गरेको छ । (बीबीसी र एजेन्सीहरु)

ताजा अपडेट

खोजी गर्नुहोस