मंसिर १४, काठमाडौं । रोल्पाको थवाङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ। थवाङ-१ मा भएको उपनिर्वाचनमा नेकपाका उमेदवार जनकबहादुर बुढाले १७४ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन्। २०८ मत खसेकोमा थवाङमा ९ मत बदर भएको थियो। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनाव बहिस्कार गरेपछि कुल १२ सय ८८ मत मध्ये २०८ मत खसेको थियो। सो वडामा दुई मतदान केन्द्रमा १ सय १२ जना महिला र ९७ जना पुरुष मतदाताले मतदान गरेका हुन्।
बिहान ७ बजेदेखि मतदान सुरु भई साँझ ५ बजे मतदान सम्माप्तिको अवधिसम्म जम्मा १६ दशमलव १ प्रतिशत मात्र मतदानमा सहभागी भएको मतदान अधिकृत ऋषिराम सुवेदीले जानकारी दिए।
दिउँसो केही मतदाताले मतदान गरे पनि त्यसपछि भने मतदानको अवस्था शुन्यजस्तै रह्यो।
मतदाता मतदान गर्न नआएपछि सुरक्षाकर्मीले स्कटिङ गरेको भन्दै स्थानीयले ढुंगामुढासमेत गरेपछि केही बेर तनाव भएको थियो। स्वतन्त्र निर्वाचीत वडाध्यक्ष फर्कबहादुर बुढाको मस्तिस्कघातका कारण निधन भएपछि उपनिर्वाचन भएको हो।