भाद्र २०, काठमाण्डौ । मन्त्रिमण्डल हेरफेरको चर्चा र अर्थमन्त्री खतिवडा बाहिरिने निश्चित भएसँगै अब अर्थमन्त्री को होला भन्ने चासो पनि जोडिएको छ । प्रधानमन्त्री केपी शर्माओलीले खतिवडालाई अझ शक्तिशाली बनाउने तयारी गरेको बुझिएको छ । त्यसका लागि अर्थमन्त्रालय आफै राख्ने ओलीको चाहना छ । त्यसपछि सरकारबाट बाहिरिएका खतिवडालाई आफ्नो आर्थिक सल्लाहकार बनाउने र उनैबाट पुनः अर्थमन्त्रालय सञ्चालन गर्ने योजना ओलीको छ ।
त्यसो गर्दा खतिवडा ओलीसँग थप नजिक हुने मौका पाउनेछन् भने मुलुकले कोरोनाभाइरसको कहरबाट आर्थिक मन्दी बेहोर्नु परेका बेला विश्व बैंक लगायत दातृ निकायबाट ऋण लिएर भए पनि अर्थतन्त्र धान्न सकिने ओलीको बुझाइ छ । किनभने अन्तर्राष्ट्रिय दातृ निकायमाझ खतिवडा जति लोकप्रिय र काबिल ठहरिएका छन्, त्यो गतिमा काम गर्नसक्ने अरु कुनै नेता छैनन् भन्ने प्रधानमन्त्री ओलीको विश्वास रहेको स्रोतको दावी छ । यदि ओली यो निश्कर्षमा पुगेमा अर्थमन्त्रीका लागि चर्चामा आएका विष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि चर्चामै सीमित बन्ने देखिएको छ ।