भाद्र २१, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले एक महिनाको पारिश्रमिक प्रदान गरेका हुन् ।
सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराईले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए । उनले एसिड पीडित बालिका खातुनसँग अप्ठेरो बेलामा मात्र नभएर सजिलो बेला पनि जिन्दगीभर सम्बन्ध रहिरहने बताए । भट्टराईले आफ्नो फेसबुक पेजमा खातुनसँगको भेटको प्रसङ्ग सम्झिएका छन् । गत माघ महिनामा होटल हायातमा भएको भेटलाई सम्झिँदै भट्टराईले त्यहाँको कार्यक्रममा मुस्कानको बुलन्द भाषणबाट प्रभावित भएको बताएका छन् ।